Spread the love

कनकाई बहुमुखी क्याम्पसबाट दक्षिणतर्फ रहेको २०५४ मंसिर २७ गते अनावरण गरिएको सहिद लक्ष्मी पाण्डेको शालिक ।

सहिद लक्ष्मी पाण्डेको जन्म विं. सं २०२२ साल पुस १८ गते पिता खड्गप्रसाद पाण्डे र माता माया देवी पाण्डेको कोखबाट ताप्लेजुङ जिल्ला सिनाममा भएको थियो । वि.स. २०३५ सालमा परिवारसहित झापाको साविक बनियानी-६ मा बसाई सरी आउनुभयो ।

विद्यार्थी अवस्थामा नै पार्टी काममा लागेका पाण्डे साहसी निडर हुनुहुन्थ्यो । सहिद लक्ष्मी पाण्डे सहादत प्राप्त गर्दा हिमाली माविमा कक्षा-९ मा अध्ययनरत हुनुहन्थ्यो । उहाँ अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुनुहुन्थ्यो ।

वि.सं. २०४४ सालमा भारतको मेघालय राज्यमा लामो समयदेखि आफ्नो रगत र पसिना त्यही माटोमा भिजाउँदै गरेका नेपाली मूलका जनतालाई अपमानजनक ढङ्गले लखेट्न थालेपछि भारतीय हैकमवादको विरुद्ध नेपालमा पनि विरोध सभाहरु हुन थाले । नेपाली भाषीको पक्षमा सुरु भएको आन्दोलन जिल्लाव्यापी रुपमा मंसिर २७ गते सुरुङ्गामा गर्ने तयारी गरिएको थियो ।

उक्त आन्दोलनमा जनपक्षीय प्रतिनिधिहरुको साथ र समर्थन रहेको थाहा पाएको तत्कालिन पञ्चायत प्रशासनले मसिर २६ गते बेलुका नै ७ जना जनपक्षीय प्रतिनिधीहरुलाई पक्राउ र्गयो । मंसिर २७ गते पञ्चायती प्रशासनले पूर्व र पश्चिम दुवैतर्फ रोकेर सुरुङ्गामा भेला हुन दिएन । त्यसै क्रममा आन्दोलनकारीले कन्काई पुलको पश्चिमतिर भेला भई सभाको तयारी गरे ।

सभाको बिसर्जनपश्चात सबै जना घर फर्कने क्रममा प्रहरीले आनदोलनकारीहरु माथि दमन सुुरु गर्याे । प्रहरीले महिलाहरु माथि दुर्व्यवहार गर्दा लक्ष्मी पाण्डेले प्रतिकार गर्नुभयो । महिलाहरु माथि दुर्व्यवहार बन्द गर भन्दै प्रहरीको विरुद्ध उभिनु भएको पाण्डेलाई जनविरोधी, निरङ्कुश शासकले गोली हान्यो, र उहाँले सहादत प्राप्त गर्नुभयो । बलिदानीपूर्ण इतिहास बोकेको विद्यार्थी नेता लक्ष्मी पाण्डेको योगदानलाई स्मरण गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *